सिरसाया हेकूको कथा

विष्णुमतीको पुल तरेर डल्लुबजारको उकालो चढ्दै गरेको बेला एकजना अधबैंसेे महानुभावले मलाई बाटैमा रोकेर सोध्नुभयो, 'रामेश भनेको तपाइँ नै हो ?'

'हजुर ।'

'सिरसाया हेकू' कसले बनाएको हो थाहा छ ?' निकै आधिकारिक ढंगले, रहस्यमयी स्वरमा उहाँले एक्कासि प्रश्न गर्नुभयो ।

'यसको खास लय र शब्द त नेवार जातिको कुन पुर्खाले बनाए थाहा छैन तर यसलाई परिमार्जन गरेर २०४५ सालतिर भरत नेपाली, रामकृष्ण दुवाल र मैले जनसमक्ष ल्याएका हौं ।'

'तर यो गीतबारे धेरै मान्छेहरूले अनेकखाले कथा हालेर कुरा गरेको पनि सुनिन्छ नि ! वास्तविकता के हो ? हामी सबैलाई थाहा दिन पर्‍यो । अब यो गीतको बारे नचाहिने कथाहरू हाम्रो कानमा नपसोस्,' हतपती नहाँस्ने खालको अनुहारमा अलिकति हाँसो उब्जाउँदै हिँड्ने बेलामा उहाँले भन्नुभयो, 'तपाईंलाई थाहा छ ? 'राजमती कुमती'पछि नेवारी गीतमा योजस्तो राम्रो र चलेको गीत अरू निस्केन । हामी सारा नेवारहरू खुसी छौं । के तपाईंहरूले नै साँच्चै हामीलाई यो खुसी दिएको हो ?'



जिाडो महिनाको चिसो स्याँठ खेप्दै, सिमसिमे पानीमा रुज्दैभिज्दै हतार हतार गीतिअभ्यासका लागि लम्किरहेको हुन्छु । भुरुङखेल स्वणिर्म स्कुलमाथिको सानो कोठामा मपछि रामकृष्ण दुवाल अनि भरत नेपाली आइपुग्नुहुन्छ । अरू साथीहरू आउने छाँट देखिँदैन । तैपनि बाजा चैं खोलिसकेका हुन्छौं । मेरो हातमा हार्मोनियम अनि भरतजीको हातमा सारंगी । हार्मोनियमको प्याँ प्याँ, सारंगीको र्‍याइँर्‍याइँ । वाक्क लाग्यो क्यारे एकछिनपछि भरतजीले भन्नुभयो, 'जाउँ हो बरु ।'

'जाउँ त जाउँ' दुवालजीले पनि सही थाप्नुभयो । 'यति टाढाबाट आउनुभो, तुरुन्तै के जानु । एकछिन बसौं अनि जाउँ' मेरो भनाइपछि फेरि एकछिन हामी केही धुनहरू बजाउँछौं अनि जाने सुरसार कस्छौं । तर किन हो मन मान्दैन !  'हाम्रा पुराना मीठा नेवारी लोकलयहरू छन् नि, यसो खोतलेर निकालुँ न यो फुर्सदमा । केही राम्रो भेटिहालिन्छ कि !' मेरो भनाइपछि रेट्दारेट्दै अकस्मात भरतजीको सारंगीबाट एकटुक्रा धुन निस्कन्छ । 'आहा... कति मीठो ! एकपल्ट फेरि बजाउनोस् त !' मेरो बोलीपछि उहाँ धुनसँगै सानो टुक्रा गीत पनि गाउनुहुन्छ 'सिरसाया हेकू जिमीं दाइचा ब्युगु ।'

'ए हाम्रोतिर पनि गाउँछ यो गीत त, तर लय अलि फरक छ ।' यसो भन्दै दुवालजी आफ्नो भेगतिर गाइने त्यही लोकगीत गाउन थाल्नुहुन्छ 'सिरसाया हेकू जिमी दाइचां ब्युगु  व हेकू कासानिसँे मन थातय् ला त उल्सानिसो मन फर्केजुल'  



'भक्तपुर र कीर्तिपुरतिर गाइने लयमा केही फरक त रै'छ नि हगि ।'

'भिन्दा भिन्दै ठाउँहरूमा पुग्दा लयको मौलिक रूप पनि फरक हुँदै जान्छ नि दाइ' मेरो भनाइपछि दुवालजी भन्नुहुन्छ । उहाँको कुरामा समर्थन जनाउँदै भन्छु, 'तर  सुरुको लय भक्तपुरको राम्रो अनि अन्त्य चैं कीर्तिपुरको, दुईतिरको लय गाँसेर  स्थायी लय बनाउँदा कसो होला ?' भरतजी र दुवालजी एकैपल्ट सहमति जनाउनुहुन्छ । शब्दचाहिँ त्यही पुरानै राखेर दुईतिरको लय मिसाउँदै गीतको स्थायी गाउँछौं । आहा गजब ! क्या मीठो ! आनन्दमा झुमेर तीनैजना निकैबेर  गाइरहन्छौं ।

नेवार भए पनि नेवारी -नेपाल भाषा) बोल्न नजान्ने पहाडे नेवार म । त्यसैले त्यो गीतको अर्थ दुवालजीसँग सोध्छु । गीतको भाव बुझाउँदै उहाँ भन्नुहुन्छ, 'यो धागो कात्ने, लुगा बुन्ने एकजना महिलाले गाएको पुरानो नेवारी लोकगीत हो दाइ । गीतको अर्थ छ- चर्खाको बिँड बिगि्रएको थियो, कामै गर्न जाँगरै नचलेको बेला सतीसाल काठको बिँड राखेर दाइले चर्खा र तान बनाइदिनुभएपछि बल्ल काम गर्ने जाँगर पलायो । यस्तै अर्थ छ दाइ यो गीतमा ।'  

धेरै वर्षअघि राल्फा समूहमा हुँदा, केही विदेशी साथीहरूसँग बसेको एक सांगीतिक जमघटको याद आउँछ मलाई । त्यससाँझ विदेशी साथीहरूले आफ्ना देशका थुप्रै लोकगीतहरू सुनाएका थिए । त्यसमध्ये एउटा गीतचाहिँ लुगा बुन्ने जुलाहाहरूको थियो । गाइसकेपछि उनीहरूले हाम्रो नेपालको जुलाहाहरूले गाउने गीत गाउन अनुरोध गरे । त्यस्तो गीत नेपालमा हामीले सुनेका पनि थिएनौं, छ  छैन थाहा पनि थिएन । हामी वाल्लजिल्ल परेका थियाँैं । आज लुगा बुन्नेहरूले गाउने गीतको कुरा चलेपछि, कपडा बुन्ने नेपाली जुलाहाहरूको विषयमा गीत बनाउने एउटा अवसर मिलेको मेरो मनले अनुभव गर्‍यो । 'उसोभए चर्खामा धागो कात्दै, तानमा कपडा बुन्ने एकजना केटीले गाएको गीत बनाउन त ।' 'हुन्छ नि दाइ' दुवालजी र भरतभाइ दुवैले एकैपल्ट सहमति जनाउनुहुन्छ ।

सानो कथा बुन्छौं हामी । 'बिँड बिग्रेको चर्खा बनाइदिन सिकर्मी काम जान्ने दाइसँग बहिनीले अनुरोध गर्छिन् । बैनीको काम गर्ने जाँगर मरेको थाहा पाएपछि दाइले हाँसी हाँसी बिग्रेको चर्खा बनाइदिन्छन् । अनि हवार्लाङ हवार्लाङ हल्लिने कपडा बुन्नेे तान पनि मर्मत गरेर ठिक्ठाक् पारिदिन्छन् । त्यसपछि फुर्तीसँग चर्खामा धागो कातेर तानमा राख्दै बहिनीले कपडा बुन्छिन्, अनि काठको बोक्रा उमालेर त्यसको रङमा कपडा रङ्गाएपछि त्यै कपडाको नयाँ लुगा सिइदिएर बैनीले दाइलाई मामाको घरमा पठाउँछिन् ।' गीतको कथा पनि नौलो र राम्रो लाग्छ हामीलाई  ।  

दुईतिरको लय गाँसेर मीठो स्थायी तयार पारेपछि अब स्थायीलाई सुहाउने अन्तराको लय तयार पार्नतिर लाग्छौं । निकै बेरपछि गीतको अन्तरालाई सुहाउने  एउटा लोकलयको याद आउँछ । जुन म्याङलुङ बजारकोे भदौरे मारुनी नाचमा  एकजना कालेकेटो जुल्फी हल्लाई हल्लाई, खुब स्वादले गाउँथ्यो । 'अन्तराको लयमा यो लय राख्दा कसो होला ?' लय गाएर सुनाउँछु ।

'सुहायो दाइ सुहायो,' राम्रो मान्दै दुवालजी भन्नुहुन्छ । 'उसोभए यही लयमा शब्द जडौं न त,' लय कण्ठ पारेपछि दुवालजी लयमा शब्द जड्न अनि भरतजी र म हार्मोनियम र सारंगीमा गीतको धुन बजाउन थाल्छौं ।

'दाइ, यो लय पनि धेरै पुरानो भएकोले गीतमा पनि पुरानै समयमा चल्ने नेवारी शब्दहरू राख्छु है, 'योंचा स्वया धेधेचु, फेलु स्वया फफस्व जिमी दाइचा न्हिला न्हिला फुक्कँ दय्का बिल रे

उल्सानिसें मन फर्के जुल ।'

'आहा लयमा ठेट भाषा पर्‍यो । अर्को अन्तरामा पनि त्यस्तै शब्दहरू खोजौं है...' खुसीको स्वर निस्कन्छ मेरो मुखवाट ।

'ल ठीक छ ।'

'त्याकान् त्याकान् ताङ्गाचा, हान्था हान्था हाथाचा जिमी दाइचाँ दय्का बिल हिसी दय्क लबचा उल्सानिसें मन फर्के जुल ।'

माथिको दोस्रो अन्तराको शब्द तयार भएपछि तेस्रो अन्तरा पनि त्यस्तै किसिमबाट बन्छ, 'सिं खोलाया रंचा, छिना तैगु कापचा वहे लँ न फिना दाइचा पाजु पिन्थाय् वन का उल्सानिसें मन फर्के जुल ।'

आफंै दंग र छक्क पर्दै दुवालजी भन्नुहुन्छ, 'कुरा पनि कति खुरुखुरु आएको मलाई ! कहिले त दुई-तीन दिन घोरिँदा पनि चित्तबुझ्ने गीत निस्किन सक्दैन । ल आज साइत जुरेको छ है दाइ ।'

'साइतभन्दा पनि संयोग राम्रो पर्‍यो भन्नुस् न ।'

'ल जेभन्दा पनि हुन्छ् !'

करिब दुई-तीन घन्टाको मिहिनेतमा गीत तयार भएपछि तीनैजना प्रसन्न मुद्रामा निकैपटक गीत गाउँछौं । नत्र लय बिर्सने खतरा पनि हुन्छ । बाहिर धुमधाम हुरीपानी बर्सिरहेको हुन्छ अकस्मात जोडसँग ढयाम्म ढोका खोलेर एकमुस्लो हावा कोठाभित्र छिर्छ । रामकृष्ण दुवालजी हाँस्दै भन्नुहुन्छ, 'ल हावालाई पनि हाम्रो गीत सुन्न असाध्य मन लागेर आएछ, ढोकै खोलेर भित्र पस्यो बा !'

गीतको खेस्रा लेखाइलाई राम्रो अक्षरमा साफी गरेर सार्छु अनि 'गीतको लय बिर्सेला है' भन्दै पानी अलि थामिएपछि हामी छुटिन्छौं । ठँहिटी क्वाबहालमा रुझ्दैभिज्दै पुगेपछि भक्तपुर र कीर्तिपुर पुग्नुुुपर्ने भरतजी र दुवालजीलाई सम्झन्छु 'कति दुःख भयो होला बिचराहरूलाई, त्यति टाढासम्म पुग्नुपर्ने !'  

पाँच तलामाथि, अन्ठाउन्न सिँढी चढेर पुगिने, ठँहिटी क्वाबहालमा थियो- मेरो सानो एककोठे डेरा । त्यसबेला मेरो कोठा एउटा केन्द्रैजस्तो थियो, माले पार्टीको । पार्टीका सांस्कृतिक कामहरू यही कोठाबाट सञ्चालन हुन्थ्यो । त्यसैले पञ्चायती सीआईडी, मण्डले र पुलिसहरूको तारो थियो मेरो कोठा । आमूल क्रान्तिका लागि, करोडौं दीनदुःखी श्रमशील नेपाली जनताले सुख समृद्धि र सम्मान पाउने जनवादी व्यवस्था ल्याउन जिउज्यान हत्केलामा राखेर जुटेका थियौं हामी संस्कृतिकर्मीहरू । संगीत भर्ने, गीत गाउने मान्छे भन्ने थाहा पाएपछि ठँहिटीका टोले समाजसेवी दाइहरू पनि बेलाबेलामा मलाई गीत ल्याएर त्यसमा संगीत भरिदिन अनुरोध गर्नुहुन्थ्यो । 'मचाचा ला मचाचा' भन्ने दुर्गालाल दाइको गीतमा संगीत भरेर अघिल्लो कार्यक्रममा दुवालजी र मैले टोलका बच्चाहरूलाई गीत र नृत्यमा निकै सघाएका थियौं । ठँहिटीको मैत्री अध्ययनमण्डल परिवारले फेरि केही समयपछि गर्न लागेको 'बां बां लागु म्ये' नामक सांस्कृतिक कार्यक्रममा पनि एउटा गीत गाउन आयोजक दाइहरूले मलाई भन्नुभयो । नेपाल भाषाको कार्यक्रम भएकाले नेपाल भाषाकै गीत गाउनुपर्ने । झट्ट मनमा हामीले भर्खरै  तयार गरेको 'सिरसाया हेकू' गीतको सम्झना आयो । मैले खुसीसाथ 'गाउँछु' भनें ।

नियमित अभ्यासमा हामी त्यो गीत गाइरहेका थियौं । कार्यक्रम हुने अघिल्लो दिन  ठँहिटीको ग्य्रान्ड रिहर्सलमा दुवालजी र मैले त्यो गीत गाउँदा सबैले ताली पिटेर स्याबासी दिए । अनि घर र्फकंदा त्यहाँ उपस्थित युवाजमात त्यही गीत गाउँदै  घर गए ।

राष्ट्रिय सभागृहमा नेपाल मैत्री अध्ययनमण्डल ठँहिटीको आयोजनामा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । हामीले 'सिरसाया हेकू' गितार, हार्मोनियम   र मादलमा झम्काएर गायौं । गीत गाउँदा गाउँदै बीचमा रमाइलो हल्ला पनि भयो । मैले स्टेजछेउको मान्छेलाई म्युजिक बजाइरहेको बेला सानो स्वरले 'के भयो ?' भनी सोध्दा 'गीत राम्रो मानेर खुसी हुँदै कराएको क्या !' भने । दुर्गालाल दाइ, धर्मबहादुर मानन्धर दाइ र अरू आयोजकहरूले कार्यक्रमपछि नेवारी भाषाको राम्रो गीत गाएकोमा बधाई र धन्यवाद दिनुभयो । गणेश सायमीले बेस्सरी अंगालो हालेर दिएको धन्यवाद त झन् कस्तो ! बिर्सनै नसकिने ! कार्यक्रम सकिएपछि शभागृहबाट सबैजना पैदलै ठँहिटी फर्कियौं । युवकहरूको ठूलो हूल बाटोभरि मादल बजाउँदै त्यही गीत गाउँदै हिँडिरह्यो । पछिपछिसम्म पनि ठँहिटीको बाटोमा मलाई भेट्दा स्थानीय युवकहरू मुसुमुसु हाँस्दै सानो स्वरमा 'सिरसाया हेकू' अलिकति गाएर हिँड्थे ।

नेपाल मैत्री अध्ययनमण्डल, पुस्तकालय एवं वाचनालय ठँहिटीले लाइभ कार्यक्रमको सबै गीतहरू राखेर, अडियो क्यासेट पनि जनसमक्ष ल्यायो । क्यासेटको नाम थियो 'बां बां लागु म्ये' नेपाल संवत् ११०८ । जसमा दुवालजी र मैले स्टेजमा गाएको 'सिरसाया' गीत पनि समावेश थियो । केही समयपछि 'अप्सरा' पत्रिकाले पनि आफ्नो नयाँ अंकमा त्यही गीत म्युुजिक नोटेसनसहित छाप्यो जसमा रचना र संगीत परिमार्जनमा भरत नेपाली, रामकृष्ण दुवाल र मेरो नाम थियो । स्वणिर्म स्कुलले पनि केटाकेटीका गीतहरूको दोस्रो भाग 'साना साना खोलाखोली'को अडियो क्यासेटचक्कामा बालिकाहरूको स्वरमा यो गीत रेकर्ड गरेर राख्यो । सुन्नेजति प्राय सबैले अति नै मन पराए । अझ काठमाण्डूको ज्यापू समुदाय त नयाँ रूपरंगमा यो गीत फेरि पाउँदा दङ्गदासै थिए । नेपाली भाषामा गीत गाउने धेरै गायिकाहरूले पनि स्टेज कार्यक्रममा नेपालभाषाको यो गीत गाएर निकै प्रशंसा बटुले । त्यसपछि त यो गीत गाउने र बजाउनेको बाढी नै चल्यो । नेवार जातिको हरेक कार्यक्रममा, हरेक चाडबाडमा, हरेकखाले जमघट र भेलाहरूमा जहाँ जाउ यही गीत । पछि पछि त ब्यान्डबाजाहरूले समेत बिहावारीमा यही धुन बजाउन थाले ।



सिमयसाल निकै बितिसकेको थियो । एकजना साथीसँग वसन्तपुरमा भेट्ने समय मिलाएको थिएँ । हतार हतार जाँदै थिएँ । भदौरे याम, जात्राले छोपेको काठमाण्डू । जात्राको त्यस्तै सिलसिलामा एक हूल नेवारयुवक धिमेमा ताल ठोक्दै अनि युवतीहरू काठको बाँसुरीमा 'सिरसाया' धुन बजाउँदै हिँडिरहेका थिए । आनन्द मान्दै इन्द्रचोकदेखि सँगसँगै उनीहरूको पछिपछि हिँडिरहें । बाँसुरीको त्यही मनमोहक धुन सुन्दासुन्दै मेरो मन धेरै वर्षअघि हुरीपानीको त्यो साँझ र स्वणिर्म स्कुलको त्यो सानो कोठामा पुग्यो । जहाँ हामीले पुरानो त्यो नेवारी लोकधुनलाई नयाँ ढङ्गमा सजाएर तयार पारेका थियौं । त्यो कस्तो सुखद संयोग !  हामीले गीत बनायौं ! फेरि आज कस्तो संयोग धिमेको स्वादिलो तालमा बैनीहरू एकनासले बाँसुरीमा त्यही धुन बजाइरहेका थिए । म त्यही धुन बाँसुरीको स्वरमा सुन्दै पछि पछि हिँडिरहेको थिएँ । लाग्थ्यो कुनै स्वप्नील संसारको आनन्दयात्रामा छु म ।

 

Source: 

रामेश

असार ७, Kantipur National Daily

COMMENTS

Wonderful Ghandruk Trek
gallery gallery gallery gallery gallery gallery gallery gallery gallery gallery