दोलखाको खड्ग जात्रा

ऐतिहासिक दोलखा सहरमा प्राचीनकालदेखि खड्ग जात्रा मनाइँदै आएको छ । देवताले दानवलाई परास्त गरेको खुसीमा लोकलाई कल्याण भएको विश्वास गर्दै प्राचीनकालदेखि यो जात्रा चल्दै आएको हो ।

सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजासाथ देवदेवीका सेनामेनाहरू विजयदशमीको भोलिपल्ट बिहानदेखि नै युद्धको अभिनय गर्दै दोलखा बजारमा नाचगान गर्दै रमाइलो
गर्छन् । मन्दिर र मूर्तिहरूको सहरले परिचित दोलखा बजारका टोल र डबलीहरूमा हातमा खड्ग बोकेर युद्ध मैदानमा उत्रिएका सेनपति र सेनामेना नाच्दै दिनभर दोलखा बजार घुम्छन् । युद्धमा उत्रिएका सेनापति र उनका सहयोगी झंै क्रुद्ध शैलीमा दानवहरू खोजेर वध गर्दै अघि बढेको दृश्य रोमाञ्चक  हुन्छ । पालोअनुसार युवादेखि वृद्धसम्म नाच्ने खड्ग जात्रा प्राचीन समयमा दोलखा बजारमा देवदेवीको बास भएको स्थलको परिकल्पना गरिएको छ ।

 किंवदन्तीअनुसार हजारांै देवता र मन्दिर भएको दोलखा सहरमा दानवले देवदेवी तथा मनुष्यलाई चरम दुःख दिने कार्य दिन-प्रतिदिन बढ्दै गएपछि युद्धद्वारा दानवलाई परास्त गरिएको थियो । युद्ध आरम्भ गर्नुपूर्व जनैपूणिर्माको अघिल्लो दिन देवदेवी बाजागाजासहित पूजा सामग्री लिएर युद्धको सहायताका लागि कालिञ्चोक भगवती पुग्ने चलनलाई अहिले पनि निरन्तरा दिएको दोलखा बजारका प्रवीण प्रधान बताउँछन् । कालिञ्चोक भगवतीले युद्धमा सघाउने आश्वासन पाएपछि देवदेवीले दोलखा सहरको राइतीमा जनैपूणिर्माको दिन तीनधारा अगाडि यज्ञको सुरुवात गर्छन् । त्यही दिन गंगाको पूजा गर्नुका साथै राजकुलेश्वर पोखरीमा राक्षसको खोजी गर्छन् । उक्त पोखरीमा आधा राँगाको टाउको फालेर पौडन सक्नेले त्यसको खोजी गरेर आफ्नो बनाउने चलन छ भने दोलखा बजारबाट बाजागाजाका साथ कालिञ्चोक दर्शन गर्न जाने चलन छ ।

यज्ञ सुरु भइरहेको ठाउँमा दानव आई आक्रमण गरेर यज्ञ मण्डपलाई ध्वस्त पारिदिएपछि युद्धको सुरुवात भएको किंवदन्ती छ । दोलखा सहरको राजकुलेश्वर तलको चक्र डबलीमा नवमीको दिन पुजारीले चामलको भातबाट चक्रेश्वर बलिराजाको मूर्ति बनाउँछन् । त्यो मूर्तिमा स्थानीय कुसुलेबाट विधिपूर्वक राँगाको बलि दिन्छन् । जात्रालाई सुरु गर्न कालरात्रिको दिनमा दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा चारवटा राँगा बलि पूजा गर्ने प्रचलन छ । भीमेश्वरमा राँगा बलि दिइनुको अर्थ महिषासुरको गणको वध गरेको मानिन्छ । यसलाई स्थानीय नेवारी भाषामा हामिल्ठी-तिमल्ठो भन्ने गरिन्छ ।

परम्पराअनुसार याकरगण खलकका मूल व्यक्तिले दीक्षा प्राप्त गरेपछि सेनापतिको उपाधि पाउँछन् । अहिले दीक्षाकर्मप्राप्त यज्ञकुमार प्रधानले १६ वर्षदेखि सेनापतिको भूमिकामा नाच्दै आएका छन् । मूल व्यक्ति बिरामी परेमा वा मृत्यु भएमा मात्र अर्काले त्यो भूमिका पाउँछन् । अन्य कुलबाट नाच्न आउनेहरूचाहिँ पालोफेरो गर्छन् । त्यस्तै युद्धका निमित्त बोलाएका दुई जना तथा चेलीबेटीका तर्फबाट सहायता लागि पठाइएका तीन जना पनि नाचमा सामेल हुन्छन् । बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच टीकाको भोलिपल्ट बिहानबाट सुरु हुन्छ  ।

मन्त्री तथा सेनापति, याकरगण वंशज र उनका भीम बलि बोक्नेसमेत युद्धमा सामेल भएको रोचक दृश्य जात्राको मुख्य आकर्षण हो । युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धनाच प्रदर्शन गरिन्छ ।

विजय प्राप्त गर्दै अघि बढिरहेका सेना कालीको मन्दिर हुँदै त्रिपुरासुन्दरी पुग्छन् । त्यहाँ युद्धका लागि त्रिपुरासुन्दरीसँग सहायता मागेको नृत्य प्रदर्शन गरिन्छ । त्रिपुरासुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाई घण्ट, डमरू, खड्ग चार हातमा थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि देखाउने चलन छ । बटुक भैरवसहितको सेनाहरू दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वर हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलिराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् ।

भीमेश्वर र त्रिपुरासुन्दरीमा बलि दिइएको राँगाको टाउको यहाँ राखिन्छ र त्यही टाउकालाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन् भने त्यहाँ अरू सेनाहरूले पनि खड्ग प्रहार गरी शिर छेदन गर्दछन् । त्यसपछि सगुनबाजा बजाउँदै विजयोत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपपछि बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी टीका लगाइदिने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।


Adapted from :  The Kantipur Daily. 27th October 2012

COMMENTS

Wonderful Ghandruk Trek
gallery gallery gallery gallery gallery gallery gallery gallery gallery gallery