बालकले नेतृत्व गरे खड्गजात्राको

परम्परागत खड्गजात्रा बिहीबार सकिएको छ । राजधानीको असन चोकमा एकादशीको दिन बौद्ध तान्त्रिक विधिअनुसार अन्नपूर्ण देवी -असंमण्डप अजिमा) साधना गरी जात्रा मनाइएको हो । सबभन्दा कान्छो व्यक्तिको अगुवाइमा तुलाधरहरूले खड्गजात्रा मनाएका थिए ।

अरू टोलहरूमा विजयादशमीकै दिनमा खड्गजात्रा सम्पन्न भएको थियो । असन चोकमा भने एकादशीमा मात्र खड्गजात्रा मनाउने परम्परा छ । असनस्थित अन्नपूर्ण मन्दिर पछाडि रहेको बाकुननीको आगमघरबाट छ महिनाको बालक रियान तुलाधरलाई अग्रपंक्तिमा राखेर आ-आफ्ना हातमा खड्ग लिई निस्केका व्यक्तिहरूले असनटोलका विभिन्न ठाउँ परिक्रमा गरेका थिए ।

यसअघि गुँला बाजा बजाई असन नजिकैको जमलबाट जात्राको अगुवाइ गर्ने बालकलाई बोकेर आगम घर ल्याइएको थियो ।

संस्कृतिविद् हरिराम जोशीले कान्तिपुरलाई भने, 'शिव-पार्वती पुत्र कुमार कार्तिकेयले बालक अवस्थामा नै देवसेनाको नेतृत्व गरेर तारकासुर दैत्यको बध गरेकाले त्यसैको प्रतीकका रूपमा त्यसरी परम्परा बसालेको हुनसक्छ ।' दैवशक्तिद्वारा असुरमाथि विजय प्राप्त गरेको सम्झनामा विजयादशमीमा राजधानीको टेबहाल र वँटुमा भद्रकाली, यट्खामा कंकेश्वरी, महाबौद्धमा इन्द्रायणी, क्वहिटीमा नीलबाराही तथा किलागलमा श्वेतकाली साधना गरी खड्गजात्रा निकालेका थिए ।

त्यस्तै हनुमानढोका दरबारको मूलचोकबाट पनि तलेजु भवानी साधना गरी लायकु -दरबार) पायाः निकालेका थिए । आचाजुद्वारा हातमा खड्ग लिई निस्केका त्यस खड्गजात्राले मरु टोलको काष्ठपण्डप -मरुसत्तल) परिक्रमा गरका थिए ।

किलागलटोलमा भने खड्गजात्रा गर्नुअगाडि सांस्कृतिक बाजागाजासहित त्यहाँ स्थापित कुमारीको जात्रा गरेका थिए र खड्ग जात्रापछि श्रद्धालु भक्तजनहरूले कुमारीको हातबाट टीका थापेका थिए ।

 

Adapted from: The Kantipur Daily, 27th Oct 2012

COMMENTS

Wonderful Ghandruk Trek
gallery gallery gallery gallery gallery gallery gallery gallery gallery gallery